पाँचथर।
भाषाविद् मलिसा याक्थुङ्बासहित दुई जनालाई सम्मान गर्दै फाल्गुनन्द गाउँपालिका-५ कोल्बुङस्थित जनकल्याण माद्यमिक विद्यालयले सरस्वती पूजा सम्पन्न गरेका छन्।
पूजाका अवसरमा लिम्बु भाषाका खोज, अनुसन्धानकर्ता तथा साहित्यकार महेन्द्र कुमार नेम्बाङ (मलिसा) लाई भाषा तथा साहित्यमा पुर्याएको योगदानको कदर गर्दै नगद, कदरपत्र र दोसल्लाले सम्मान गरिएको छ। फाल्गुनन्द आधारभूत विद्यालय, फाल्गुनन्द-२ इम्बुङका प्रधानध्यापकसमेत रहेका नेम्बाङ लामो समयदेखि लिम्बु भाषा तथा साहित्यमा सक्रिय रहँदै आएका छन्। उनले लिम्बु भाषामा आधारित विभिन्न कृतिहरू पनि प्रकाशन गरेका छन्।

यसैगरी, विद्यालयका कक्षा ५ मा अध्ययनरत नोनिम लिम्बुलाई पनि नगदसहित सम्मान गरिएको छ। विद्यालयका विद्यार्थीहरूमध्ये लिम्बु भाषामा उत्कृष्ट ज्ञान भएका लिम्बु सम्मानित भएका हुन्। विद्यालयका संस्थापक स्व. सुवासचन्द्र चेम्जोङ र धर्मपत्नी पवित्राको नाममा परिवारले स्थापना गरेको छ लाख १५ हजार रुपैंया अक्षय कोषको व्याजबाट विभिन्न विधाका शिक्षक तथा विद्यार्थीलाई सम्मान गरिएको हो।
यसै अवसरमा, गरीब तथा जेहेन्दार नर्सरीदेखि कक्षा १२ सम्मका ५५ जना छात्रछात्रालाई नगद छात्रवृत्ति पनि प्रदान गरिएको छ। पुस्तकालय सञ्चालन र व्यवस्थापनका लागि शिक्षक करिस्मा लिम्बु र अविचन्द्र चेम्जोङलाई समेत पुरस्कृत गरिएको विद्यालयका शिक्षक बुसेन नेम्वाङले जानकारी दिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अक्षय कोषदाता परिवारका सदस्य दुर्गा चेम्जोङ प्रमुख अतिथि रहेका थिए। वडाध्यक्ष विष्णुकुमार चेम्जोङलगायतको विशेष आतिथ्यमा सम्मानित हुनेहरूलाई पुरस्कार प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रमको सञ्चालन शिक्षक अम्बिका प्रसाद सापकोटाले गरेका थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक अभिभावक संघका अध्यक्ष, अभिभावक तथा समाजसेवीहरूको उपस्थिति थियो।
२०२३ सालमा स्थापना भएको यस विद्यालयले विभिन्न विधाका विद्यार्थी र शिक्षकलाई अक्षय कोषको व्याजबाट सम्मान गर्दै आएको छ। हालसम्म स्व. सुवासचन्द्र चेम्जोङ र धर्मपत्नी पवित्रा स्मृति, मन बहादुर स्मृति, हर्कबोली जसरानी र भूतपूर्व विद्यार्थी समाज गरी चार वटा अक्षय कोष स्थापना भई जम्मा १८ लाख ८१ हजार ६२० रुपैयाँ कोषमा संकलन भइसकेको छ भने थप कोष स्थापनाको क्रम जारी रहेको जनाइएको छ।
विद्यालयका प्रधानध्यापक पूर्ण कुमार सदेम्बाले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्य माथि प्रकाश पारे। उनका अनुसार स्व. सुवासचन्द्र चेम्जोङ र धर्मपत्नी पवित्राको नाममा रहेको छ लाख १५ हजार रुपैंयाको कोषबाट स्व. चेम्जोङको जन्मदिन तथा सरस्वती पूजाको अवसर पारेर सम्मान, पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम सञ्चालन गरिएको जानकारी गराए।





